टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्डमा ८ विधा

पोखरा, २ जेठ ।

‘समृद्धिका लागि खेलकुद’ नाराका साथ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यसपालि विभिन्न ८ विधामा स्पोर्टस् अवार्ड वितरण गर्ने भएको छ ।

मञ्चले विहीवार पोखरामा पत्रकार सम्मेलन गरी जेठ २४ मा हुने टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५ मा ८ विधामा अवार्ड वितरण गर्ने जनाएको हो ।

अवार्डमध्ये गत वर्षझैं बतास ब्रदर्श प्रालिको प्रायोजनमा वर्ष खेलाडी पुरुषलाई टीभीएस अपाचे मोटरसाइकल र वर्ष खेलाडी महिला खेलाडीलाई विगो स्कूटर प्रदान गरिनेछ ।

यसैगरी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उदियमान खेलाडी अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड
वर्ष उत्कृष्ट खेल संस्था अवार्ड, वर्ष पपुलर प्लेयर अवार्ड र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड वितरण हुनेछ ।

बतास ब्रदर्श प्रालिका प्रबन्धक सन्तोष पोखरेलले जिल्लास्तरबाट प्रदेशस्तर भएको अवार्ड कार्यक्रमको सफलताको कामना गर्दै गत वर्ष भएको ३ वर्षे सम्झौता पुनरावेदन गर्दै सत्प्रतिशत प्रायोजन गरिएको जनाए ।

राजधानी बाहिर पहिलो पटक ४ वर्ष अघि भएको सो स्पोर्टस् अवार्ड निरन्तर हुँदैआएको छ । सो अवार्ड कार्यक्रम खेल र खेलाडीको विकासका लागि गण्डकी प्रदेशकै प्रतिष्ठित अवार्डको रुपमा मानिन्छ ।

मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वागत उपाध्यक्ष रञ्जन अधिकारी र संचालन महासचिव विजय नेपालले गरेका थिए ।

कार्यक्रम सम्पन्न गर्न मञ्च अध्यक्ष गिरीको मूल संयोजकत्वमा विभिन्न १२ उपसमिति गठन गरिएको छ । स्पोर्टस् अवार्ड पोखरा सभागृहमा दिउँसो २ बजे हुनेछ ।