खेलकुद पत्रकार मञ्च गण्डकीको प्रथम अधिवेशन, खेल संस्थाले गर्ने काम खेलकुद पत्रकारले गरे: राखेप सदस्य गुरुङ

पोखरा, २५ फागुन । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले पोखरामा खेल पत्रकारहरुले खेलकुदका संघसंस्थाले गर्नुपर्ने काम गरेको भन्दै प्रशंसा गरेका छन् । उनले हरेक वर्ष नयाँ खेलाडीलाई प्राृत्साहन र खेलमा जिवन समर्पित गरेका खेलाडीहरुको सम्मानका लागि स्पोर्टस् अवार्ड गर्दै आएको स्मरण गर्दै यो काम खेल संघसंस्थाले गर्नुपर्नेमा पत्रकारले सहयोग मागेर भएपनि गरेको भन्दै धन्यवाद प्रकट गरे ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको प्रथम अधिवेशनमा प्रमुख अतिथि राखेप सदस्य राजेश गुरुङले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । अध्यक्षको आसनबाट मञ्च अध्यक्ष केशव पाठकले विगतको तुलनामा मञ्च बृहत् बन्दै गएको र यसले पोखरामा आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्ड यहाँको थप चिनारी बनेको बताए । उनले कार्यकालमा सघाउने सम्पूर्णमा आभार व्यक्त गरे ।

यस्तै, संस्थापक अध्यक्ष समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा मञ्चले वेवसाइट लञ्च गरेको छ । www.nsjfgandaki.com तथा www.nsjfgandaki.org पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले लञ्च गरेका हुन् ।

पोखरा स्पोर्टस् लगायत महत्वपूर्ण इभेन्टका तस्वीर, भिडियो, कार्यसमिति तथा सदस्यको नामावली, प्रेस विज्ञप्ति, सूचना, प्रतिवेदन रहने छन् । साथै कसैले खेलसम्बन्धी समाचार पोष्ट गर्न सक्ने फिचर राखिएको महासचिव रञ्जन अधिकारीले जानकारी दिए ।

मञ्च उपाध्यक्ष दीननाथ बरालले स्वागत मन्तव्य राखेको कार्यक्रममा महासचिव रञ्जन अधिकारी संचालन गरेका थिए । बन्दसत्रले महासचिव अधिकारी र कोषाध्यक्ष विजय नेपालको कोषाध्यक्षको प्रतिवेदन पारित गर्यो । ०५७ सालमा स्थापित नेपाल खेलकुद पत्रकार मञ्च समन्वय समिति कास्की यस वर्ष गण्डकीको नाउँमा दर्ता भएको हो । अधिवेशनमा मञ्चका ५१ जना सदस्य प्रतिनिधि थिए ।

सम्बन्धित समाचारः

खेलकुद पत्रकार मञ्च गण्डकीमा गिरी निर्वाचित, बराल १ मतले पराजित

खेलकुद पत्रकारको आफ्नै वेबसाइट ‘nsjfgandaki.com’